लालगढमा गौतम होटल धमाधम निर्माण हुँदै

बर्दिबास, माघ ११ गते । चार दशकदेखि ग्राहकलाई सेवा दिदैं आएको महोत्तरीको बर्दिबासस्थित गौतम होटलले धनुषाको लालगढमा सुविधासम्पन्न होटल धमाधम निर्माण गरिरहेको छ । युवा...
२०७८ माघ ११ गते

बोक्सी आरोप बिरुद्ध संघर्ष ः जिउँदो इतिहास मरनी देवी

महोत्तरीको मटिहानी–९ सिमरदहीकी मरनीदेवी साहले ठ्याक्कै २० वर्षअघि ‘बोक्सी’ आरोपमा गाउँलेबाट चरम यातना भोगिन् । जति बेला उनी ४४ वर्षकी थिइन्, अहिले ६४ वर्ष पुगेकी छन् । छारे रोगले छिमेकीका छोरोको मृत्यु हुँदा मरनीदेवीले टुनामुना गरेर मारेको आरोप गाउँलेले लगाए । ३० साउन, २०५८ सालमा बोक्सीको आरोपमा गाउँलेबाट अमानवीय व्यवहार खेपिन् ।बेहोस बनाउने औषधि पूजाको प्रसादमा मिसाएर ख्वाइयो । बेहोस भएपछि निर्घात कुटपिट गरियो । प्रहरीले उद्धार गरेपछि उनको ज्यान जोगियो ।उनी ३२ वर्षको उमेरदेखि गाउँमा स्वास्थ्य स्वयंसेविकाको काम गर्थिन् । तर, बोक्सी आरोपको घटनापछि त्यसविरुद्धको अभियानमा समर्पित भइन् । अन्धविश्वासको चक्कीमा पिसिएर बाँचेकी उनी २० वर्षदेखि बोक्सी आरोपविरुद्ध जनचेतना फैलाउँदै हिँडेकी छन् । अन्धविश्वास तथा रुढिवादी परम्पराविरुद्ध घुम्टोबाहिर निस्किएर आफूजस्तै अरूलाई जागरुक बनाउन क्रियाशील मरनीदेवीको दुःख, संघर्ष र सफलताबारे राजकरण महतोले गरेको कुराकानी ः

  • तपाईं ‘बोक्सी’ आरोपविरुद्धको जनचेतना अभियानमा कसरी लाग्नुभयो ?

–म एक अक्षर पनि पढेको छैन । मलाई पहिला त्यति ज्ञान थिएन । बुहारीले घरभित्रै घुम्टोमा लुकेर बस्नुपर्ने परम्परा गाउँमा थियो । घरबाटै लडेर म घुम्टोबाहिर निस्किएँ । ३० वर्षसम्म गाउँमै स्वंयमसेविकाका रूपमा काम गरेँ । गर्भवती, सुत्केरी र बच्चाहरूको हालखबर सोध्दै टोल–टोल हिँड्थें । देशको सेवामा लागिरहँदा मलाई गाउँलेले ‘मरनीदेवी डाइन (बोक्सी) हो’ भनेर मार्न खोज्यो । समुद्रमा पानी भरेझैं यो घटनाले मनभरि पीडा भरियो । अब चुप लागेर बस्नु हुँदैन । म चुप बसे अरू दिदीबहिनीले पुस्तौं–पुस्तासम्म भोग्नुपर्छ भनेर बोक्सी आरोपविरुद्ध जनचेतना फैलाउन कम्मर कसेर लागेँ ।

  • जनचेतना फैलाउन के गाह्रो भएन ?

–यो काम गर्न सजिलो छैन । मानिसहरू अझै बोक्सी हुन्छ भन्छन् । मैले हुँदैन भन्छु । तर, पत्याउँदैन । समाज अन्धविश्वासको चक्करमा फस्नुको मूल कारण शिक्षाको कमी हो । ज्ञानको ज्योति जुन दिन समाजभरि फैलिन्छ त्यो दिन अन्धविश्वासको जरो उखेलिन्छ । म यसकै लागि लडिरहेको छु ।

  • कस्तो अवस्थामा बोक्सी आरोप लगाइन्छ ?

–जवानीमा जसको घरवाला (श्रीमान्) बित्छ उसलाई बोक्सीको दोषी नजरले हेर्न थाल्छ । उसले श्रीमान् खाएर डाइन सिकी भन्न थाल्छ । गरिबले अलिक मेहनत गरेर धन जोड्यो भने पनि त्यो घरको महिलालाई डाइन भन्छ । डाइन सिकेर अरूकै घरबाट तानेर सम्पत्ति ल्यायो भन्छन् । यो कुरा झुटो हो ।

  • समाजमा महिलाको अवस्थामा कस्तो देख्नुहुन्छ ?

–बच्चा हुँदा आमाबुवाको बन्धनमा बस्नुपर्ने । विवाह भयो श्रीमान्को अन्डरमा बाँच्नुपर्ने । बुढेसकाल लाग्यो छोराछोरीले हेला गर्ने । त्यसमाथि कसैको श्रीमान् बित्दा त झनै पतिलाई फलानोले खाई भनेर घर र समाजबाट बोक्सी आरोपमा यातना खेप्नुपर्ने । महिलालाई सहज छैन ।

  • तपाईंले आफूप्रति गाउँ, समाजको दृष्टिकोण कस्तो पाउनुहुन्छ ?

–महिलासम्बन्धी कार्यक्रममा बोलाउँछन् । गाउँमा माया गर्ने मान्छेहरू धेरै छन् । बोक्सी आरोपविरुद्धको कानुन बनेपछि कसैले कसैलाई कमै डाइन भन्छ । तर, समाजमा कुरा काट्न छोडेको छैन । मलाई बोक्सी भनेको जुन दिन सुन्छु त्यो दिन जोसुकै होस् जेल हाल्छु । कानुन बनाएँ मैले नाच्छ को ? मेरो माथि घटना भएपछि बोक्सी कसुर गर्नेविरुद्धमा सरकारले कानुन बनायो ।

मधेसका महिलाले अझै घरबाहिरको संसार देख्न पाएका छैनन् । घुम्टोभित्रै छन् । यो पनि एक प्रकारको परम्पराले गरिरहेको हिंसा नै हो । गरिब, एकल महिलालाई समाजमा बाँच्न अझै कठिन छ । कसैको भैंसीले दूध नदिए, कोही बिरामी भए, कसैको प्रगति भएन भने निर्धा, गरिब र एकल महिलालाई बोक्सी भन्दै कुटपिट गर्छ । मलमूत्र कोच्याउन पछि पर्दैन ।

ममाथि घटना के भयो, सबै अकिल (बुद्धि) भगवानले खोलिदियो । मलाई देखेपछि अहिले पनि आमाहरूले अचरा (साडीको फेर)ले छोप्छ । आज छोप्छ, ठूूलो भएपछि गाउँमा हिँड्छ कि हिँड्दैन ? त्यो दिन उनीहरूले कहाँ राख्छ बच्चालाई ? केही गाउँलेले यस्तो गर्छ । धेरै महिलाले गर्भमा बच्चा भएपछि मलाई जानकारी दिन्छ । म स्वंयमसेवी भएर काम गरें ।

  • तपाईंले अहिले पनि स्वंयसेविका भएर काम गर्दै हुनुहुन्छ ?

–अलिहे म बुढी भएँ । अब हिँड्न, खट्न सक्दिनँ । ३० वर्षजति स्वंयमसेविकाको काम गरेँं । अहिले कान्छी बुहारी ललितालाई स्वयंसेविकाको पद हस्तान्तरण गरेको छु । त्यै पनि मान्छेहरू मलाई बच्चा, गर्भवती महिला तथा सुत्केरीका बारेमा जानकारी गराउँछन् । त्यो सूचना बुहारीलाई दिन्छु । ऊ सेवा दिन घरमै पुग्छ ।

  • स्वंयसेविका भएर सेवा गर्दा कस्तो अनुभूति भयो ?

–खुसी लाग्छ । कमाई हुनु नहुनु आफ्नै ठाउँमा हो । आत्माले जनताको सेवा गरंँे । गाउँलेले मलाई दुःख दियो । तर, मैले कसैलाई बुराई (खराब) सोचिनँ । सबैभन्दा ठूलो भगवान् छ । त्यसैको बलमा म अघि बढिरहेको छु । मलाई मान्छेले बलजोरी (जबरजस्ती) बोक्सी बनायो । यत्रो हुँदा पनि अबुझहरूले मलाई बोक्सी भन्छ । त्यसले मन पोल्छ । मैले थुप्रै बच्चा र आमालाई औषधि खुवाएर स्वस्थ नागरिक बनाएँ । यो मेरो जीवनको महत्वपूर्ण उपलब्धि र सम्पत्ति हो ।

  • तपाईं कसरी स्वयंसेविका बन्नुभयो ?

–एक जना स्वास्थ्यकर्मीले मलाई महिला स्वंयमसेविकामा राख्नुभयो । श्रीमानसँग नसोधेर नै हुन्छ भनिहाले । थाहा पाउनु भएपछि के हुन्छ भन्ने डर लाग्यो । म त्यतिखेर त्यस्तै ३२ वर्षको थिएँ होला । बच्चा र आमाको सेवा गर्दा पुन्य हुन्छ भनेर डाक्टरले भनेर जानुभएको छ । यो सुनेर उहाँ (श्रीमान्)ले जान अनुमति दिनुभयो ।
पहिला नपढेको मान्छेलाई पनि जान्ने र सक्रिय छ भने स्वंयमसेविका राख्थ्यो । अनपढ भएकाले सुरुमा काम गर्न धेरै कठिन भयो । डाक्टर र नर्सले भनेको कुरै नबुझ्ने । तालिममा जरी सिकाइन्थ्यो, त्यसैगरी गाउँमा खबर सुनाउँथेँ । लगातारको तालिमपछि खोप दिने समय, भिटामिन ख्वाउने तालिकाबारे बुझ्न थालें । एक पैसा पनि तलब हँुदैनथ्यो त्यति खेर । एक दिन तालिममा गएको ४० रुपैयाँ पाइन्थ्यो । खोप चलेको दिनको सय रुपैयाँ भत्ता दिइन्थ्यो ।

  • बोक्सी कसुरविरुद्धको कानुनबारे तपाईंलाई के थाहा छ ?

–महिलालाई बोक्सी भन्ने ? अन्याय गर्ने ? यस्तो गर्ने जेल जान्छ । दण्ड पनि लाग्छ । जनचेतनाका लागि धेरै पटक प्लेन चढेर काठमाडौं गएँ । हाकिम सा’बहरूले पहिला पानी मागेर मेरो हातबाट खान्छन् । म बोक्सी भएको भए उनीहरू मर्थे नि ।

  • २० वर्षअघि तपाईंलाई बोक्सी आरोप लगाएर गाउँलेले निर्मम ढंगले कुटपिट गरेका थिए । उक्त घटनालाई तपाईं कसरी स्मरण गर्नुहुन्छ ?

–मैले दुःख भोगेको कुरा देश विदेश सबैले जानिरहेको छ । मरनीलाई कुन रंगको कुटाइ लाग्यो ? के बित्यो ? मलाई मात्रै थाहा छ । कुटाइले टाउको, निधार र शरीरभरि घाउ थियो । त्यतिखेर चार दिनसम्म मैले केही थाहा पाइनँ । त्यो घाउ अझै कहिलेकाहीँ बल्झिन्छ । टाउको दुख्छ ।

  • अहिले तपाईंको अवस्था कस्तो छ ?

–अब म बुढी भएँ । जीवनमा राम्रोसँग कसरी बस्ने खाने सोच्दै छु । सरकार पनि मेरो नाउँ बिर्सिन्छ । किन सुन्दैन ? मेरो नामले इन्जीओवला (एनजीओ)हरू लाखीखाँकी (धनी) भयो । उनीहरू मलाई भजाएर बजेट ल्याएर लुकाउँछ ।

  • यो कुरा कसरी थाहा पाउनुभयो ?

–विदेशीले मलाई क्यान्डा (क्यानाडा) घुमाउन टिकट पठायो । मरनी सिरियस बिरामी छ भनेर ढाँटेर इन्जिओवला (एनजीओ)हरूले आफ्नो परिवारलाई पठायो । जिल्लामा गएपछि हाकिम साबहरूले भोज खुवा भन्यो । केको भोजभन्दा तपाईं क्यान्डा गएर आउनुभएको होइन भन्यो । त्यसपछि बल्ल मलाई थाहा भयो । मेरो नाउँमा अरूले विदेश घुम्यो ।

  • तपाईंलाई कसले किन बोक्सी आरोप लगाएको थियो ?

–हाम्रो समुदायमा पूजा गरेर ग्रहदशा कटाउने चलन छ । मैले पनि परिवारको दीर्घायु, सुखका लागि घरमा महादेवको पूजा गरेको थिएँ । गाउँको एक जना सानी छोरी मेरो घरमा बिहान ११ बजेतिर पैसा माग्न आएको थियो । उसको बुुवाले मेरो घरबाट दूध किनेर लगेको थियो । अघिलो दिन पैसा दिँदा हिसाबभन्दा बढी रुपैयाँ मेरो माथि खसेको थियो । त्यो माग्न आउँदा मेरो आँगनमा पूजा गरिएको ठाउँमा बच्चीको खुट्टो लाग्यो । मैले पूजा गरेको ठाउँ हो, किन फूललाई कुल्चेको, ढोग भने । बच्चीलाई फिर्ता रकम दिएँ । राती पूजामा खटिदाँ म थकित भएको थिएँ । त्यो दिन धेरै घाम थियो । बिहानै महादेव पूजाको फूल, अगरबत्ती नदीमा सेलाउन जान सकिनँ । साँझ सेलाउन जान्छु भन्दै पूजा गरेकै ठाउँमा ती सामग्री छोपी दिएँ । अनि म ओछ्यानमा पल्टिएँ ।

  • त्यसपछि के भयो ?

–त्यो बच्ची घर पुगेपछि मरनीले पुजेको थियो, मलाई ढोग्न लगायो भनेर गाउँभरि भनेछ । त्यसपछिका दिनमा गाउँमा कोही बिरामी भए, मरनीले टुनामुना लगायो भन्दै आरोपमाथि आरोप लगाउन थाले । कसैलाई टाउको दुख्यो कि मरनीले जादु चलायो भन्दै बोक्सीको नजरले हेर्न थाले । दिन बित्यो, महिना सक्यो, साल लाग्यो । त्यसपछि मलाई गाउँलेले बोक्सी भनेर नामकरण गरिदियो ।

  • बोक्सी आरोपले तपाईंमा कस्तो प्रभाव प¥यो ?

–बजार जाँदा मेरो पछाडि मान्छेहरूले सीआईडी गर्न थाल्यो । वनमा जाँदा पिछा गर्न थाल्योे । मरनी कहाँ जान्छ, के गर्छ ? गाउँलेले बाटो ढुक्न थाल्यो । दसैं आउँदा त मानिसहरूले झनैं निगरानी गथ्र्यो, के गर्छ भनेर समात्ने र रामधुलाई गर्ने योजना बनाउँथ्यो । जे गर्छ उपरवाला मालिक (भगवान्)ले गर्छ । म बोक्सी भए पो ! मैले आफ्नो काम गरेर घर फर्किन्थें । अरूसँग के मतलब ?

  • तपाईंलाई नभएको आरोप लगाउने अवस्था कसरी आयो ?

–घटनाअघि मेरो छोरो वीरेन्द्रले विवाह ग¥यो । जन्ती घुमेर आएपछि भगवानको पूजा गर्ने चलन छ । मैले घरमा सत्यनारायण भगवान्को पूजा लगाएको थिएँ । गाउँलेहरू मेरो आँगनमा पूजा हेर्न आएको थियो । छिमेकी जोगिन्द्र साहको १० वर्षीय छोरो सञ्जय पनि आएको थियो । पूजामा आरतीका लागि कपुर चाहिने भयो । बच्चालाई अचरा (आँचल)मा बाँधेर राखेको दुई टकियाँ दिएर पसलमा पठाएँ । उसले कपुर किनेर आयो । एकै छिनमा बेहोस भएर आँगनमै ढल्यो । उसको शरीर टाइट भयो । बच्चा बेहोस हुनुको कारण थियो– मिर्गी (छारे रोग) । मिर्गी छोडाउन कसैलाई आउँदैन थियो । एक जना छिमेकीले नाक र मुख छोपेर निको पार्न खोज्यो । त्यसपछि अस्पताल लाँदालाँदै त्यो बच्चाको मृत्यु भयो ।

त्यसपछि ‘मरनी बोक्सी छ । उसैले तिम्रो छोरो मा¥यो’ भनेर छिमेकीले जोगिन्द्रलाई उस्कायो । मृत्युको कारण खोज्न जानुको साटो उसले धामीझाँक्रीलाई घरमा बोलायो । भारतबाट धामीझाँक्री बोलाउन गाउँबाट सहमतिपत्रमा हस्ताक्षर संकलन गरियो । जोगिन्द्रको पक्षमा हुनेले धामी ल्याउने सहमति दियो । अरूले दिएन ।

म त्यति खेर स्वंयमसेविका नै थिएँ । सबै बच्चालाई भिटामिन ए, पोलियो थोपा, जुकाको औषधी खुवाउँथेंँ । गर्भवती तथा सुत्केरीलाई अस्पताल पठाउँथेँ । म बोक्सी भएको भए कसैको बच्चालाई जति खेर पनि मार्न सक्थें नि ! बुझ्नेले सहमति दिएन । तर, अन्धविश्वासमा रुमलिएकाहरू मलाई बोक्सी साबित गर्नतिर लागे । मान्छे कोही बोक्सी हुन्छ ? जमाना कहाँबाट कहाँ गइसक्यो, हामी अझै जंगली युगमै छौं ।

  • घटनाक्रम कसरी अघि बढ्यो ?

–इन्डियाबाट धामीझाँक्री गाउँमा ल्याइयो । राती धामीले मरनी डाइन छैन भन्यो । तर, छिमेकीले जसरी हुन्छ उसलाई बोक्सी छ भनेर निकाल्नै पर्छ भन्ने अडान राखे । भोलिपल्ट बिहान मलाई बोक्सी घोषणा गर्न जुक्ति निकाल्यो । गाउँमा पूजा लगाउने कुरा भयो । त्यहीअनुसार गाउँमा डिगडिगियो (झ्याली) पिटाइयो । भोलि जो प्रसाद खान आउँदैन उसलाई ५० हजार जरिवाना गरिनेछ भनियो । म त भाग्ने कुरै थिएन । मलाई नै बोक्सी ठहर गर्न यत्रो तानाबाना बुनिएको थियो ।

  • पूजा कहाँ लगाइएको थियो ?

–गाउँको स्कुलमा पूजा लगाइयो । त्यो दिन खाना खान ढिलो भएको थियो । बिहानको ११ बज्दै थियो । पूजा सकिएपछि मलाई प्रसाद खान पटक–पटक बोलाउन मान्छे आयो । मैले खाना खाएर आउँछुु भनें । मानेनन् । भोकै स्कुलमा पुगेँ । निकै घाम लागेको थियो । गाउँभरिका महिला लाम लागेको थियो । प्रसाद खाएर कोही बोक्सी होइन भनेर लिएको परिक्षा पास हुन दिदीबहिनीहरू पुगेका थिए । त्यो भीडमा म पनि मिसिएँ ।

‘पहेलो साडी लगाएको महिला नै मरणी हो’ भनेर गाउँलेले धामीझाँक्रीलाई चिनायो । अरूका लागि रातो कपडाले छोपेर राखेको आरीको प्रसाद दियो । मलाई भने सानो माटोको भाँडोको प्रसाद दियो । मैले खाएँ । दुई खाले प्रसाद वितरण गरेको मेरो जेठी बुहारीले देख्यो । गहुँ, सखर मिसाएर बनाइएको प्रसाद भोकै पेटमा खाएँ । मलाई त्यही बस्नु भन्यो । म ‘किन यहाँ बस्ने, बस्दिनँ । खाना खाएरको आएको छैन’ भनेर त्यहाँबाट घर हिँडे ।

मलाई बोक्सी सावित गर्न लिएको परीक्षापछि धेरैले स्कुलमा कुरो खोलेका थिए । स्वंयमसेविका साथीहरूले पनि बोक्सी हो कि होइन भनेर जाँचेको थाहा भयो । म बिडी खान्थेंँ । त्यसैमा मलाई मन्त्र लगाएर जाँच गरेको सुन्दा अच्चममा परें । स्कुलमा भीडभन्दा टाढा गएर साथीहरूसँग कुरा गर्दा मरनी बोक्सी ठहरियो भाग्दै छ भनेर हल्ला फैलायो ।
मलाई लखेटन थाल्यो । त्यहाँका केही गाउँलेले बचायो । त्यहाँबाट म घर फर्केर आउँदा मेरो आँखा देख्न छोड्यो । बेहोस् भएँ । मेरो होस् हबासै हरायो । भुइँमा लडें । उता स्कुलमा बोक्सीकै बिषयमा लिएर मरापिटी (कुटपिट) सुरु भयो । छिमेकीले मरनी डाइन नांगै आगनमा नाचिरहेको छ भने घरको छतबाट हल्ला ग¥यो । मरनी घरबाट भाग्छ भनेर दैलोमा मान्छे खटायो । त्यो भीड मेरो घरको दैलोको ढोका तोडेर भित्र पस्यो ।

  • त्यो भीडले तपाईंलाई के ग¥यो ?

–मलाई घरबाट निकालरे कोखामा हान्न थाल्यो । मेरो आँखा खुल्यो । मलाई कुटिरहेका मान्छेहरूलाई चिनें । मलाई कुटपिट गर्दै पञ्चाय कार्यालय (तत्कालिन गाविस) नजिकैको पोखरी किनारमा लग्यो । जहाँ पायो त्यही कुट्न थाल्यो । छाताको नोखले मेरो आँखामा हिर्कायो । त्यतिकैमा प्रहरीको गाडी आयो । आँखाको छेउबाट रगत बग्दै थियो । महिलाहरूले आँचलमा भिजाएर मेरो मुखमा पानी हालिरहेको थियो । प्रहरीले मलाई कुटनेहरूलाई पक्रेर भ्यानमा हाल्यो । थानामा लग्यो । मलाई सिडिओले जलेश्वर अस्पताल पठायो । गाउँबाट मान्छेको भागाभाग भयो ।

  • तपाईंले आफूलाई कुट्नेहरूविरुद्ध प्रहरीमा उजुरी गर्नुभयो कि भएन ?

–दर्जनभन्दा बढी मान्छेहरूविरुद्ध मैले प्रहरीमा उजुरी गरेँ । उनीहरू धरौटी राखेर छुट्यो । मेरो मुद्दामा कसलाई कारवाही भयो, मलाई आजसम्म थाहा छैन । सबै त्यसै घुमिरहेका छन् ।

  • घटनापछि अरूले तपाईंलाई के भने ?

मलाई देशभरिकाले चिन्न थाल्यो । गाउँमा काठमान्डुल (काठमाडौं) र जिल्लाबाट धेरै पत्रकार आयो । मेरो फोटो खिच्यो । पत्रिकामा मेरो दुःख छाप्यो । महिना दिनसम्म पत्रकारहरूले मेरो खबर लेखिरह्यो । अहिले दुनियाँले मेरोबारे जान्छन्, यो मेरो जीवनको ठूलो खुसी हो ।

  • अरू दिदीबहिनीलाई के सल्लाह दिनुहुन्छ ?

–ममाथि जुन प्रकारको घटना भयो, यस्तो घटना कुनै महिलालाई नहोस् । बोक्सी आरोपमा कसैले केही गरे आवाज उठाउन भन्दै आइरहेको छु । सभासम्मेलन होस् या बैठक समय लिई मैले आफ्नो घटना सुनाएर अरूलाई त्यसबिरुद्ध जुटन भन्दै हिँडिरहेको छु । २० वर्षको समयलाई फर्केर हेर्दा ममाथि घटना हुँदा बोक्सीविरुद्धको कानुन बन्यो । कुनै महिलामाथि डाइन भनेर होच्याउने, कुटपीट गर्ने, मलमुत्र खुवाउनेलाई कारबाही हुन्छ ।

आफ्न्तले पनि बोक्सी हो कि होइन भनेर जाँचे । बोक्सी ठहरिए काटेर घरमै तरहारा खनेर गाड्नेसम्म भने । त्यो कुरो सम्झिँदा आँसु आउँछ । घरमा बोलाएर किरिया (कसम) खुवायो । छोरा लगाएर किरिया खाएर भनें, ‘म बोक्सी होइन’ अनि मृत्युको मुखबाट उम्के । कसम नखाएको भए मलाई विष पिलाएर उनीहरूले माथ्र्योे । एन्डोसेल भन्ने विष किनेर ल्याएको मैले देखेको थिएँ ।

  • बोक्सीबिरुद्धको कानुन त बन्यो, पीडितले न्याय पाइरहेका छ कि छैनन् ?

–बोक्सी आरोपको घटना अझै पनि गाउँमै पञ्चायती गरेर लुकाइन्छ । यस्तो हुनु हँुदैन । यस्यो भयो भने घटना गराउनेहरूको मनोबल बढेर जान्छ । पञ्चहरूले कानुन बुझ्नुपर्छ । जसरी आफूलाई कसैले कुबोली बोल्दा मन दुःख, कुट्दा दुःख छ । अरूलाई पनि त्यस्तै पीडा हुन्छ भने बुझ्नुपर्छ । मेरो आत्मा जस्तै अरुको आत्मा हुन्छ सबैले बुझ्न जरुरी छ । म यही चाहिँ रहेकी छु । अरुलाई अहिले दुःख दिदाँ मर्दा नर्कमा बास हुन्छ । सहयोग र माया गर्दा जिउँदोमै स्वर्गमा पुगेको आनन्द मिल्छ । हामीले कसैलाई दुःख दिन्छौ भने त्यो उपरबालाले हिसाब गरिरहेको हुन्छ । त्यसैले कसैले कसैलाई अन्याय गर्नु हुँदैन । मान्छेले मान्छे मारेर के पाउँछ ? मावन जीवन धेरै अनुपम छ ।

  • तपाईं त निर्वाचनमा उम्मेदवार पनि बन्नुभयो । कसरी अवसर पाउनुभयो ?

–२०६४ सालमा सबै जनाले चुनावमा लडाइदियो । जनमोर्चा नेपाल पार्टीबाट आफ्नै क्षेत्रबाट संविधानसभा सदस्य चुनाव लडेको थिएँ । चुनाव चिन्ह तारा थियो । टोल–टोलमा एक महिनासम्म भोट मागेंँ । मलाई हराउन विपक्षी पार्टीका नेताहरूले गुण्डा खटायो । बाटोमा बाँसको भाँटा लिएर हामीमाथि आक्रमणको प्रयास भयो । मधेसी भएर पहाडी पार्टीमा लागेको भन्दै मलाई मार्ने योजना बनाएको थाहा पाएँ । यो खबरको प्रहरी–प्रशासनले पनि सुइको पायो ।

  • त्यसपछि के भयो ?

–प्रशासनले हामीलाई खाजा खुवाएर राति ८ बजे सिमरदहीबाट स्कर्टिङ गरी महोत्तरीको बर्दिबास पठायो । चुनावमा मेरो साढे चार सय भोट आयो । जित्न सकिनँ । तै पनि म धेरै खुसी भएको थिएँ । मलाई सबैले चिन्यो । नेताहरूले बधाई दियो । असुरक्षाका कारण १ महिना बर्दिबासमै बसें ।

तपाईंको नाम कसरी मरनी राखिएको रहेछ ?

–मेरो विवाह ८ वर्षकै हुँदा भयो । बुवाको नाम लक्ष्मी साह र आमाको नाम रामसखी देवी हो । पाँच सन्तान छोरो जन्मेपछि एकपछि अर्को बित्दै गयो । त्यसपछि छैटौं सन्तानका रूपमा म छोरीका रूपमा जन्मेंँ । मेरो दाजुहरू सबै मरेको कारण यो पनि बाँच्दैन भनेर रिसाएर मरनी नाम राखियो । अर्काको घर नपठाए मरनी पनि अरु छोराजस्तै मर्छ भनेर छिटो अरूको घर पठाउन मेरो विवाह गरियो । त्यसपछि जन्मेका २ भाइ र एक बहिनी बाँचेंँ ।

  • बाल्यकालमै विवाह भएको कसरी थाहा पाउनुभयो ?

विवाह गरेर ससुराली (घर) आउँदा मैले केही जानिनँ । पाँच वर्षपछि बल्ल मैले थाहा पाए की मेरो विवाह भयो । बुझ्ने भएपछि बुवाआमासँग झगडा गरेँ । मैले एक अक्षर पढ्न पनि पाइनँ ।

  • त्यति बेला छोरीलाई पढाउने गरिन्थ्यो कि थिएन ?

–पहिले बेटी पढ्नु हँुदैन भन्थेंँ । त्यही रुढीवादी संस्कारको सिकार भएँ । गरिबका छोरीहरू स्कूल जाने ? अनहेर हुन्छ , धनीहरू भन्थें । तर, त्यही धनीले आफ्ना छोरीहरू स्कुल पढ्न पठाउँथेँ । पहिला त्यस्तो जवाना थियो ।

  • बुढेसकाल लाग्यो, अब कसरी जीवन चलाउनुहुन्छ ?

–मेरो जीवनबारे सरकारले सोच्नुपर्छ । मरनीको जिन्दगी कसरी चल्छ ? कसरी बस्छ ? म एक गरिब परिवारको छु । १३ धुर घडेरी र चार कठ्ठा खेत छ । १२ जनाको परिवार छ । वर्षमा ९ महिना खान पुग्दैन । वृद्ध भत्ता पनि पाउँदैन । मेरो ६४ वर्ष उमेर भयो, ७० वर्ष नपुगी पाइँदैन । मेरो लागि काठमाण्डुलबाट पाँच पैसा पनि राहत आएन । अब कमाउन सक्दिनँ । सरकारले मेरो नाममा किन सोच्दैन, विचार गर्दैन ?

  • परिवार कसरी चल्दै छ ?

–जेठो छोरो विनोद कमाउन विदेश गएको छ । कान्छोराको छोरो काठमाडुलमा नारिवल बेच्दै छ । ऊ केही महिना पहिले एक्कासि बिरामी भयो । उसको उपचारमा ७ लाख लाग्यो । घडेरी र खेत बैंकमा राखेर ऋण लिएपछि बल्लतल्ल बाँच्यो । ऋण कहाँबाट तिर्ने ? चिन्तामा छु । नातिनी भरखरै १० कक्षा पढिरहेको छ । स्टाफ नर्स पढ्ने भन्छे । ऋण तिर्ने कि नातिनी पढाउने समस्यामा छु । मैले नपढे पनि छोराछोरी नातिनातिनालाई पढाइरहेको छु ।

- Advertisement -

More articles

Leave a Reply

भर्खर

लालगढमा गौतम होटल धमाधम निर्माण हुँदै

बर्दिबास, माघ ११ गते । चार दशकदेखि ग्राहकलाई सेवा दिदैं आएको महोत्तरीको बर्दिबासस्थित गौतम होटलले धनुषाको लालगढमा सुविधासम्पन्न होटल धमाधम निर्माण गरिरहेको छ । युवा...

राष्ट्रियसभा सदस्यको १९ सिटका लागि बुधबार निर्वाचन हुँदै

काठमाडौं, माघ ११ गते । राष्ट्रियसभा सदस्यको १९ सिटका लागि बुधबार निर्वाचन हुँदै छ । बुधबार बिहान ९ बजेदेखि ३ बजेसम्म सातै प्रदेशमा राष्ट्रिय सभाको...

मधेश सरकारले किन घडेरी खोज्दै छ ?

शैलेन्द्र महतो जनकपुरधाम, माघ ११ गते । मधेश प्रदेश सरकारले आफ्नो घर बनाउन घडेरीको खोजीमा जुटेको छ । हालै जनकपुरधाम स्थायी राजधानी तोकिए छ । जनकपुर...

गिरिराजमणि पोखरेलज्यू, सिंहदरबारको अधिकार कहिले आइपुग्छ ?

श्री गिरिराजमणि पोखरेलज्यू, श्री सारदा देवी थापाज्यू, श्री बिदुरकुमार कार्कीज्यू । महोदय,       भनिन्छ, सडक र पुलले ७० प्रतिशत विकाश गाडीमा बोकेर गाउँमा ल्याउँछ । मेरो...

ग्रामिण भेगको विकासका लागि समुदायमा आधारित विकासको मोडेलको खाँचो छ ः पूर्वशिक्षा मन्त्री पोखरेल

खयरमारा, माघ १० गते । ग्रामिण भेगको विकासका लागि समुदायमा आधारित विकासको मोडेलको खाँचो रहेको पूर्वशिक्षा मन्त्री गिरिराजमणि पोखरेलले बताएका छन् । महोत्तरीको विकट गाउँ...