बर्दिबास, असार २५ गते ।
चुरे जैविकविविधताको करिडोर रहेको नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले बताए । चुरेबाट अबैधरुपमा गरिने बालुवा,गिटी र ढुंगाको दोहनले मधेश ३० वर्षमै मरुभूमिकरण हुने उनले बताए ।
शनिबार जनकपुरको एक कार्यक्रमा विद्वत प्रवचन दिँदै पूर्वराष्ट्रपति यादवले चुरे क्षेत्र जैविक विविधतायुक्त क्षेत्र भएको उल्लेख गर्दै त्यसलाई जोगाउनुपर्ने बताएका हुन् ।
जैविक विविधता र पानीको भकारीलाई हटाएर मरुभूमि बनाउन नहुने उनको भनाइ छ । निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा सर्वोच्च अदालतको फैसलाअनुसार सरकारले वैकल्पिक उपाय अपनाउनुपर्ने पनि उनले बताए । संघीय सरकार पूरा दलबलका साथ निजगढमै गएर त्यहीँ विमानस्थल बनाइछाड्छौँ भन्नु दुःखद भएको उनको भनाइ छ ।
पछिल्ला ३० वर्षमा चुरे दोहन अत्यधिक हुँदै गएको र त्यसले मरुभूमि बन्ने खतरा रहेको उनले बताए । चुरे, महाभारत र भावर क्षेत्रको संरक्षणमा सबै पक्षको सहभागितामा पनि उनले जोड दिए ।
लामो यात्रा पार गरेर आए पनि पटक–पटक लोकतन्त्र र संविधानप्रति आक्रमण भएको पूर्वराष्ट्रपति यादवले बताए । संविधानमाथि आक्रमण गर्दै प्रतिनिधिसभा विघटन भएको पनि उनको टिप्पणी थियो । ‘२०७२ मा संविधान जारी भएपछि पनि पटक–पटक यसमा आक्रमण भएको छ । २–२ पटक प्रतिनिधिसभा विघटन भयो । यसले बेला–बेला मन दुख्ने गर्छ,’ उनले भने । तर राजनीतिक पार्टीहरुले मिलेर समस्याको समाधानहरु निकाल्नु भने आफैंमा आफैंमा प्रशंसनीय रहेको उनले बताए ।
संविधान जारी हुँदा केही सन्देह भए पनि पछि राजनीतिक दलहरूले त्यही संविधानअनुरूप राजनीति अगाडि बढाएकोमा भने आफू सन्तुष्ट भएको उनले बताए । ‘मैले संविधान दिँदा मधेशमा गोली चलिरहेको थियो । तर मैले संविधान जारी गरिरहँदा त्यस्तो होला भन्ने मैले सोचेको थिइँन । मेरा केही सन्देहहरु भने थिए । त्यसैले मैले सबै राजनीतिक पार्टीहरुलाई बोलाएर कुरा पनि गरेको थिएँ । संविधान जारी गरेपछि जुन हिसाबले पार्टीहरुले मिलेर चुनाव गराए त्यसपछि भने म सन्तुष्ट भएँ,’ उनले भने ।
त्यस्तै जनकपुर सुन्दर र सांस्कृतिक तथा धार्मिक सहर रहेको पनि उनको भनाइ छ । ‘यो जनकपुरबाट मैले राजनीति सुरु गरें । जनकपुर साह्रै सुन्दर सांस्कृति र धार्मिक सहर हो । यसको इतिहास सम्झिँदा मलाई न्यास्रो लाग्छ । किनभने त्यसबेलमा तराई र पहाडमा स्थापित धेरै विद्वानहरुको उदय जनकपुरमै भएको थियो । अहिले जनकपुरमा के भइरहेको छ मैले बुझेको छैन,’ उनले भने ।
मधेशको शिक्षा बर्बाद भएको उनले बताए । ‘खेत बेचर अर्बमा उट चराउन गइरहेका छन्। यहाँ जल, बीउ पाइदैन’,उनले भने, ‘मधेशको शिक्षा र स्वास्थ्य निकै जटिछ । यो क्षेत्र चोपट छ ।’ शिक्षा राम्रो नभएसम्म परिवर्तनशील समाजको कल्पणा गर्न नसक्ने उनले उल्लेख गरे ।
दलित र जनजाती अझै मूल प्रवाहमा आउन सकेको उनले बताए । ‘मधेशमा शिक्षा र स्वास्थ्यमा परिवर्तन ल्याउनु फलामको च्युरा चपाउनु जस्तो छ’, उनले भने, ‘जुन राष्ट्रले युवा पिढीलाई शिक्षित बनाउन सक्दै त्यो राष्ट्र कोल्यापस हुन्छ ।’