लालगढमा गौतम होटल धमाधम निर्माण हुँदै

बर्दिबास, माघ ११ गते । चार दशकदेखि ग्राहकलाई सेवा दिदैं आएको महोत्तरीको बर्दिबासस्थित गौतम होटलले धनुषाको लालगढमा सुविधासम्पन्न होटल धमाधम निर्माण गरिरहेको छ । युवा...
२०७८ माघ ११ गते

सीताराम जप्दैं १३३ किलो मिटर पैदल यात्रा (भिडियो तथा फोटो फिचर)

मिथिला माध्यमिक परिक्रमा ःजसले समाजिक सद्भाव बढाउँछ

-राजकरण महतो
-राजकरण महतो 

जनचासो
७३ बर्षीय रसिलाल राउत कुर्मी ७ बर्षदेखि १३३ किलो मिटर पैदल यात्रा गर्दै मिथिलाको परिक्रमा गर्छन् । महोत्तरीको सोनमा गाउँपालिका–३ का उनी भन्छन्,‘धर्म गर्नु पर्छ, वैमानी गर्नु हुदैंन मरेर लानु के छ ?’ १५ दिने माध्यमिक परिक्रमाबासी आज जनकपुरधामको अन्तरगृह परिक्रमा गर्दै छन् ।योसंगै मिथिलामा सोमबार फागु पर्व मनाईने छ । कञ्चनवनमै परिक्रमा यात्रीले होली खेलेसंगै होलीको माहोल एक सता अघि नै बनिसकेको छ ।

         रसिला मात्रै धार्मिक यात्रामा छैनन्, उनले २५ जनालाई संगै लिएर परिक्रमामा सहभागि छन् । उनका वुवा विहारीले रसिलाललाई परिक्रमा घुमाउन लगेका थिए । वुवाको मृत्यु पश्चात रसिलाले अहिले परिक्रममा गाउँलेलाई लिएर हिडिरहेका छन् ।

           गृहस्थी जीवनबाट समय निकाल्न उनलाई निकै मुश्किल पर्छ । परिक्रममा आएपछि सबै काम छोडेर १५ दिन देशविदेश भ्रमण गर्ने, धर्म कमाउने समय निकाल्ने गरेको उनी सुनाउँछन् । ‘मानव नै भगवान् हो, दुःखका परेकालाई सहयोग गर्दा, भोकालाई खाना खुवाउँदा पुण्य प्राप्ती हुन्छ,’उनी भन्छन्,‘परिक्रममा आउँदा मन गदगद हुन्छ । आरामले खान पाइन्छ, सबैले सबैलाई प्रेम गरेको देख्न पाउँछौं । यस्तै समाजमा पनि होस् ।’

      मिथिलाञ्चलका श्रद्धालुहरू छोरा बुहारीहरू घर व्यवहार सम्हाले पछि प्रौढ प्रौढाहरू जीवनमा कम्तीमा पनि एकपटक मध्यमिक परिक्रमा गर्न चाहन्छन् ।अधिकांश सहभागी १५ दिनको सामल, लत्ता कपडा, औषधि आदि सँगै बोकेर हिँडछन् । सर सामान बोक्न दर्जनौं जना लान्छन् । साधुहरू भने आफूसँग आफ्ना गाई, घोडा, बाँदर समेत पनि लगेका छन् । पन्ध्र दिने परिक्रमामा विशुद्ध पारिवारिक माहौल हुन्छ।

पुण्य प्राप्तीको यात्रा

        धार्मिक यात्राबाट शान्ति र आननद मिलेको सोनमा गाउँकी कमोधिया देवी बताउँछन् । ‘न दुःख न शोक । न चिन्ता न त विध्न बाधा नै हुन्छ परिक्रमा यात्रामा । केवल आनन्द नै आनन्द मिल्छ,’उनले भनिन्, ‘हिड्दै हिड्दै धर्म पनि हुने र तिर्थ स्थलको दर्शन पनि हुने यस्तो पर्व कतै छैन ।’

भिडियो ः

      पहेलो बस्त्र धारण गरेका दुई साधु घरीघण्टा बजाउँदै एकाविहानै जोडले दगुदैं रहन्छ । त्यो आवाज सुनेर बच्चादेखि वृद्धवृद्धा घरघरबाट निस्किेर सकडमा आउँछन् । ठूला कदका एक साधु ‘मिथिला विहारीको डोला’ लेखिएको झण्ड सिङ्गै बासको भाटामा लहराउँदै घरीघण्टाको ध्वनीलाई पिच्छा गरिरहन्छ, गाडी छुटेपछि यात्रीले बसलाई पच्छयाँए झैं । झण्डाको पछिपछि मिथिला विहारी(भगवान् राम)को डोला छन्, त्यसमा उनीहरुले काँध भिरेका हुन्छन् ।

        ढोलक, झायल, कर्ताल, हारमुनियमको तालमा कृतन मण्डली नाचगदैं, गाउँदै जय सियाराम, जय सीयाराम, जय सीयाराम….भन्दै भगवान्को महिमा गान गाउन व्यस्त रहन्छन् । यो संगीतम वातावरणमा मिथिला विहारीको डोलासंगै पछिपछि किशोरी(सीता माता)को डोला परिक्रमामा हुन्छ । यि दुवै डोलाको पछिपछि आँखाले देखेसम्म लाखौं तिर्थालु भक्तजनको लवालस्कर हुन्छ । यस्तै दृष्य देन्न सकिन्छ, मिथिला माध्यमिक परिक्रमाभरी । नाङ्गो खुट्टा तय गरिने १३३ किलोमिटरको १५ दिने धार्मिक यात्राले मिथिलाको पावन भूमी उत्मवमय बन्छ । यसको वातावरणमा गरिब पनि रमाउँछन् ।

 मिथिला माध्यमिक परिक्रमा समाजिकको सद्भाव पर्व

         मिथिला माध्यमिक परिक्रमा १८ औं शताब्दीबाट चल्दैं आएको छ । प्रत्येक बर्ष फागुन शुक्ल प्रथमा (परेवा) तिथिबाट परिक्रमाको सुरुवात हुन्छ । जनकपुरधामको अन्तरगृह परिक्रमा गर्दै यसको सम्पन्न हुन्छ ।त्यसको भोली पल्ट मिथिलामा होली मनान्छ ।

          महोत्तरी,धनुषाको १२ र भारतको मधुवनीका ३ स्थानगरि १५ स्थानमा परिक्रमाबासी धार्मिक यात्रा गर्छन् । दिनभरी यात्रा गर्छन्, साँझ परेपछि वनका गएर विश्राम गर्छन् । झाँकी,कृतनमा उनीहरु रमाउँछन् । साधुसन्त, महन्थहरु बास बसेको स्थानमा ठूलो धार्मिक मेला लाग्छ । भगवान् राम र सीताको दर्शन गर्न गाउँगाउँबाट मानव सागर नै उर्लिन्छ ।


राजनीतिक कित्तामा विभाजित समाजलाई परिक्रमाले जोड्छन् ।परिक्रमाबासीलाई स्वागत् गर्न के धनी, के गरिब, के दलित, के ब्रह्मण सबै एक भएर जुट्छन् । तिर्थालुको स्वागत सत्कारमा सबै मस्तेज रहन्छन् । एक विश्राम स्थलबाट अर्को विश्राम स्थल जाँदा स्थानीयबासी, सरकार, संघसंस्था सबका सब सडकमा लामबद्ध हुन्छन् । गाउँको सीमानामा (प्रवेशद्वार)मा उनीहरुले भव्य स्वागत गरेर भित्र्याईन्छ, हर्षबढाई गर्दै विदाई गरेर भोली पल्ट अर्को विश्राम स्थलमा पठाउँछन् ।

‘परिक्रमा हाम्रो संस्कृति’

         श्रद्धालुहरु बसेको स्थानहरु भरीभराउ हुन्छ, झकिझकाउ हुन्छ ।साना व्यपारीहरु सरसमान बिक्री गरेर आर्जन गर्छन् ।बर्षभरी भएका सबै कोध्र, झैं–झगडालाई बिर्सिदैं धार्मिक मेलामा रमाउँछन् । यो एउटा मिथिलाको साँस्कृतिक पर्व हो, जसले आन्तरिक पर्यटनलाई बढावा दिन्छन् । नेपाल –भारत बीचको सम्बन्धलाई प्रत्येब बर्ष ‘रिचार्ज’गर्छ ।


जहाँ कृपा रामके होई,
                                             उहाँ कृपा सबकोई के ।
अर्थात जहाँ भगवान् रामको कृपा हुन्छ त्यहाँ सबैको कृपा हुने लक्ष्मीनारायण मठ मठिहानीका महन्थ जगरनाथ दास बैष्णब भन्छन् । ‘परिक्रमा हाम्रो संस्कृति, हाम्रो सभ्यता हो । जहाँ जहाँ राम र सीताको चरण परेको छ । ती ठाउँहरु भ्रमण गर्दा मनोकामना पुरा हुने जनविश्वास छ ।’

आन्दोलनले परिक्रमा असर

-ईश्वरी पौडेल ,पूर्वअध्यक्ष, नेपाल पत्रकार महासंघ महोत्तरी

       हिमाल नपग्लिए मधेश सिञ्चित हुन्न। पहाड नउम्रे मधेशले पानी पाउन्न। मधेश डढे पहाड मर्छ, पहाड वर्षे मधेश,पहाड वर्षे मधेश डुब्छ, हिमाल पग्ले पहाड खस्छ र मधेश पुरिन्छ भन्ने सन्देश फैलाउदै मिथिलाको सर्वाधिक लोकप्रिय १५ दिने मिथिला मध्यमा परिक्रमा ठूलो संख्यामा पहाडी समुदाय सहभागि हुन्थ्यो । तर, २०६३ र २०६४ को मधेश आन्दोलनले जनकपुर, जलेश्वरबाट पहाडी समुदाय पलायन भयो । त्यसले गर्दा परिक्रममा पहाडी समुदायको उपस्थित कम भएको छ ।

         ‘धार्मिक, भाषिक, सांस्कृतिक, सामाजिक अन्तरघूलन बढाउदै तराई–मधेश र पहाड गरी दुई क्षेत्रका नेपालीलाई एक ठाउँमा ल्याउने उद्धेश्यका साथ उनीहरु सो धार्मिक यात्रामा सहभागि हुन्छन्,’नेपाल पत्रकार महासंघ महोत्तरीका पूर्वअध्यक्ष ईश्वरी पौडेलले भने,‘परिक्रमालाई अझै प्रचार प्रसार गराउँनु पर्छ । संघीय सरकारले यसको महत्व बढाउँदै लैजानु पर्छ ।’

मिथिला परिक्रमाको महिमा

-सह–प्राध्याकपक धुब्र राय यज्ञबालकय लक्ष्मीनारायण विद्यापीठ मठिहानी

       प्राचीन मिथिलाको राजधानी जनकपुरको चारै कुनामा राज जनकले चार वटा शिवालय क्रमशः कलानेश्वर, जलेश्वर, क्षीरेश्वर र सप्तेश्वर स्थापना गरेका थिए । जसलाई आधार मानी परिक्रमा गर्ने परम्परा रहेको जानकी मन्दिरका उत्तराधिकारीे महन्त रामरोशन दास बताउँछन् । चार वटै शिवालय राजाजनको इष्ट देव हुन् ।

         बर्षमा एक पटक विशाल रुपमा तिर्थालुहरु मोक्क्ष प्राप्तिका लागि मिथिलाको माध्यमिक परिक्रमा गर्छन् । ‘मिथिलाको आफ्नै महत्व छ ।संसारमा कुनै न कुनै पाप जानेर वा नजारे मानिसबाट भइरहेको हुन्छ । तिर्थ गरेपछि त्यसबाट मुक्ति पाइन्छ ।तिर्थहरुमा गएर गरिएको पापहरु मिथिलाधामको परिक्रमा गरेपछि मात्रै कट्छ भन्ने धार्मिक विश्वास छ,’ नेपाल संस्कृत विश्वविद्यालय अन्तर्गतको यज्ञबालकय लक्ष्मीनारायण विद्यापीठ मठिहानी महोत्तरीका सह–प्राध्याकपक धुब्र रायले भने ।

         अति प्राचिन ग्रन्थ विष्णु पुरान अन्तर्गतको मिथिला माहात्मको अध्याय–१२ को ३३ श्लोकमा मिथिला परिक्रमाको बारेमा बिस्तृत वर्णन गरिएको छ ।‘मिथिला भूमी पावन, पवित्र छ ।सीता कहिपनि उत्पन्न हुँदा हुन्थ्यो ।तर, उहाँ मिथिलाको भूमिमै उत्पन्न हुनुभयो , किन भने मिथिलाको माटो नम्र थियो ।खाली खुट्टा हिडेर परिक्रमा गर्न सजिलो थियो,’सह–प्राध्याक राय भन्छन् ,‘ मथिला माध्यमिक परिक्रमाको १५ वटा विश्राम स्थल छन् । सबै ५ कोसको दुरीमा लगभग छन् । अर्थात १५ किलो मिटर भित्रै पर्छन् ।’


राजा जनक शिवभक्त थिए । उनले जनकपुरको पूर्व र दक्षिण कुनामा स्थापना गरेको कलान्याश्वर महादेव स्थानबाट दुई साता चल्ने माध्यमिक परिक्रमा प्रारम्भ हुन्छ ।यो परिक्रमालाई विस्तार गर्ने काम जानकी मन्दिरका महन्थ सुरकिशोर दासले व्यवस्थित रुपमा अगाडी बढाउने काम गरेका थिए । यो परिक्रमालाई सबैले नेपालको महाकुम्भ भन्छन् ।भारत बर्षमा यसरी तिर्थहरुको परिक्रमा गर्ने चलन छ । मध्यमिक परिक्रमा नेपालकै ठूलो धार्मीक यात्रा रहेको उनले बताए ।


माता, पिता, तिर्थ, गौं, यिनीहरुको परिदक्षिना परिक्रममा गर्नुपर्छ भन्ने भाव परिक्रममाले झल्काउछ ।आफु जन्मेको भूमी उसका लागि स्वर्ग भन्दा प्यारो हुन्छ । मिथिला भनेको जगत जननी सीता जीको जन्म भूमी हो । जन्मभूमिलाई कदापी बिर्सिनुहुदैंन । टाढा टाढा गएका मान्छेहरु सालमा एक पटक भएपछि परिक्रमा गरेर सुमरण गर्छन् । मिथिला क्षेत्रमा अराध्यदेव नै राम र सीता हुन् । नर रुपमा आएपछि राम र सीता जी भन्दा पहिला कुनै भगवान्को विहे नै भएको थिएन ।

यसरी सुरु हुन्छ, परिक्रमा

       धनुषाको कचुरीस्थित मिथिला विहारी मन्दिरबाट रामजानकी डोला (प्रतिमा) को अगुवाइमा निस्केको यो धार्मिक यात्रा ठेरा, जमुनिया, बेंगाशिवपुर हुँदै जनकपुरको रत्नसागर मन्दिर पुग्छ । त्यहाँ खाना खाएर परिक्रमाका सहभागीहरू जानकी मन्दिरको दर्शन गर्दै राति जनकपुर–१२ कुवारामपुरस्थित हनुमानगढीमा विश्राम गर्छन्। सूर्योदयलगत्तै उनीहरु भारतको कलानेश्वरका लागि बाटो तताउँछन् । जहाँबाट विधिवत् परिक्रमा थालिएको मानिन्छ ।

         परिक्रमाबासीलाई धनुषाको कचुरीका गाउँलले हर्षपूर्वक बिदाइ गर्छन् ।त्यहाँ बिहान दहीच्युरा जलपान गराउँछन् । परिक्रमाका सहभागीलाई घरघरबाट चामल, दाल, आलु, नुन, खुर्सानी, बेसार पनि प्रदान गरिन्छ । धनुषाको बेंगाबाट स्वागत गर्न जमुनिया आएका ८० वर्षीय दीपनारायण यादव आफू ५ दशकदेखि परिक्रमावासीलाई स्वागत गरिरहेको बताए ।
यात्रीहरू भारतको कलना, फूलगामा, करुणा र बिसौल तथा नेपालको धनुषा र महोत्तरीका गरी १५ स्थानमा यात्रा गर्छन् । उनीहरू महोत्तरीको मटिहानी, जलेश्वर, मडई, ध्रुवकुण्ड, कञ्चनवन तथा धनुषाको पर्वता, धनुषाधाम, सतोषर, औरही हुँदै पुनः कलानेश्वर पुग्छन् । श्रद्धालुहरू विश्राम गर्ने स्थानको छुट्टा छुट्टै धार्मिक महत्व छ । फूलहरमा राम र सीताबीच पहिलो मिलन भएको विश्वास छ भने मटिहानीमा विष्णुको प्रख्यात मन्दिर छ ।

                         शिव मठ पर,
                               राम खेले होली ।
                                       किनके हात कनक पिचकारी,
                                               किनका हात अबीर झोरी ।

         मिथिलाको महापर्व माध्यमिक परिक्रमाका तिर्थयात्रीका अन्त्यहीन लस्करकाकारण कञ्चनवन पुगेपछि होलीको गीत गाउँदैं फागु अर्था रंग, अविरले होली खेल्छन् । धर्म यात्रीको आगमनले कञ्चन वन भरिभराउ हुन्छ । आँपको बगैचामा भजनकीर्तन , धार्मिक झाकी , रामायणकालीन उत्सव , साधुसन्तको अलख लगाएतका धर्मपरायण नरनारीको जयकारले कञ्चनवनमा रौनक छाउँछ ।

अनि फागुको उमंग सुरु हुन्छ

             मिथिलाञ्चलमा जारी रहेको परिक्रमा प्रत्येक वर्ष कञ्चनवन पुग्दा रंग अबीर खेल्ने चलन छ होलीको गीतसँगै ।त्रेता युगमा विवाहपछि वनविहारमा निस्केका राम र सीताले आफ्नो यात्राको आठौं दिन कञ्चनवनमा पुगेर रंग अबीर खेलेको किंवदन्ती प्रचलित छ । परिक्रमा प्रारम्भ भएको आठौं दिन किशोरीजी र मिथिला विहारीको डोला लिएर आएका परिक्रमामा लस्करसँग भक्तजन मिसिन्छन । उनीहरु महोत्तरी र धनुषा जिल्लाको सीमामा पर्ने कञ्चनवनमा नुहाई धुवाई गरी सीताराम मन्दिरमा दर्शन पूजा गर्न जान्छन । त्यसपछि घरबाट लिएर आएको भोजन ग्रहण गरी दिउँसो मेलामा घुमफिर गरेर राति त्यहीँ विश्राम गर्ने चलन छ । मिथिलामा होली श्रीपञ्चमीकै दिनदेखि सुरु भएको मानिए पनि कञ्चनवनमा साधुसन्तले औपचारिक रुपमा होली प्रारम्भ गर्दै आएका छन् ।

         सीता स्वयम्बरका बेला भाँचिएको शिवधनुषको एक टुक्रा धनुषाधाममा खसेको ठाउँमा पनि परिक्रमाबासी रातीको विश्रानम बस्छन् । जहाँ तेत्रा युगमा भाँचिएको धनुषको एउटा टुक्रा अझै धनुषाधामा देख्न सकिन्छ । सतोषरमा सप्तऋषिको आश्रम रहेको धार्मिक विश्वास छ । ‘परिक्रमाका सहभागीहरू राति गाउँभन्दा टाढा खुला चौर, बगैंचा वा पोखरीको डिलमा विश्राम गर्छन् ,’स्वर्गीय पर्शुराम साह मिथिला परिक्रमा धर्म संस्था जलेश्वरका कोषाध्यक्ष राजाबाबुले भने । संघसंस्थाले तिर्थ यात्रीलाई चामल, दाल, तरकारी, दाउरा दिन्छन् । साधुसन्धलाई ओछ्याएर सुत्न पराल दिन्छन्, उनीहरुका गाई, गोरु, घोडाका लागि परालको बन्दोबस्त मिलाइदिन्छन्।

जहाँ भगवन्लाई नचाइन्छ

नवल किशोर यादव ,महन्थ, किशोरी जीको डोला

    ‘यस्तो परिक्रमा कहि छैन, जहाँ दुई देश भएर जान्छ, एउटै परिक्रमा १५ दिनसम्म जान्छ । यो एउटा अनौठौ परिक्रमा हो,’ किशोरी जीको डोलाको महन्थ नवल किशोर यादव भन्छन्,‘कोसी, गण्डक,गंगा, हिमालय मिथिला क्षेत्र भित्र पर्दछ । यो बृहत परिक्रमा भित्र पर्छ । राज जनको राजधानी जनकपुरलाई परिक्रमा गर्नु भनेको माध्यमिक परिक्रमा हो ।’ जुन परिक्रमाको बारेमा यहाँहरु जनकारी प्राप्त गर्दै हुनुहुन्छ ।

   ‘दुई ठाउँमा भगवान् नाचेका छन्, जहाँ बृदाबनमा कृष्ण र अध्योधामा राम थिए । जो नाचे,’महन्थ यादव भन्छन्,‘मिथिलामा मिथिलानीले भगवानलाई नचाउँछन् । प्रत्येक दिन मिथिला के हो ? यसको परिक्रमा किन गरिन्छ ? भन्ने बारे परिक्रमामा प्रत्येक दिन मिथिला महात्मको कथा हुन्छ ।’

   उनका अनुसार,परिक्रमा भनेको शास्त्रपुरानमा सीमित भइसकेको थियो । आज भन्दा करिब पौने २ सय बर्ष पहिले सीयालाल प्रभंस नाम गरेको सन्तले १०–१२ जना साधु मिलेर परिक्रमाको सुरु गरे ।त्यसपछि मिथिला बिहारी(राम)को डोला सुरु भयो ।त्यसपछि किशोरी जीको पनि डोला सुरु भयो ।

सरकारले चासो दिएन ः मेयर मण्डल

-हरिप्रसाद मण्डल मेयर,मठिहानी नगरपालिकाका

            परिक्रमाले दुवै देशको संस्कृतिलाई जोड्ने काम गर्दछ ।यसले मानवलाई धर्मको माध्यबाट नैतिकवान र आशावादी बनाउँछन् । मठिहानी नगरपालिकाका मेयर हरिप्रसाद मण्डल भन्छन्,‘ प्रदेश र संघीय सरकारले परिक्रमालाई खासै बुझेकै छैन ।यत्रो ठूलो धार्मिक यात्रा भइरहको छ ।प्रदेश र संघीय सरकारलाई कुनै चासो नै छैन । पर्यटन मन्त्रालयले यसलाई महत्व दिनु पर्छ । यसको प्रचार प्रसार भएको भए यसले देशलाई राम्रै फाइदा हुन्थो, बाहिरका पर्यटकहरु आउँथें । ’परिक्रमामा बारे विश्वविश्यालले सोध गराउनु पर्ने उनले माग सरकारसंग माग गरे ।हालै एपीवन टेलिभिजन जनकपुरका ब्यूरो प्रमुख विकास साहले आफ्नै लगानीमा मिथिला माध्यमिक परिक्रमाका बारेमा भिडियो डकुमेन्ट्री बनाएका छन् ।

 

 

हिरा गौतम,अध्यक्ष,होटल तथा पर्यटन व्यवसायी महासंघ प्रदेश -२

              पन्ध्र दिने यस धार्मिक यात्रालाई व्यवसायीकरण गरेर वार्षिक करोडौं आर्जन गर्न सक्ने सम्भावना भए पनि हालसम्म यो धार्मिक यात्रा व्यावसायिक स्वरूप लिन सकेको छैन। यस धार्मिक यात्रामा वार्षिक हजारौं श्रद्धालु सहभागी हुन्छन् तर उनीहरूका लागि सुविधासम्पन्न आवासको सुविधा छैनन् । पोसाक कोड छैन। खानाको व्यवस्था स्थानीयवासीले गर्छन्। अनि कसरी हुन्छ व्यवसायीकरण ? पन्ध्र दिने यस यात्रालाई प्रचारप्रसार गरेर, यात्रीका लागि सुविधासम्पन्न आवास तथा होटल आदिको व्यवस्था गरेर राम्रो आम्दानी गर्न सकिने होटल तथा पर्यटन व्यवसायी महासंघ प्रदेश २ का अध्यक्ष हिरा गौतमले बताए ।

                       परिक्रमा क्षेत्रमा धर्मशाला नभएकाले यात्रीलाई असहज बनाएको छ । तीर्थयात्रीको बसाइँ र पर्यटकको व्यवस्थापनमा समस्या भएको हो । धार्मिक पर्यटन कृषी र उधोग व्यापारको विकास गरी जनताको जीवनस्तर उकास्ने उद्देश्य सहित भारतको ईकजीव बैंकको ऋण सहयोगमा भारत सरकारले एक अर्ब ५० करोड २९ लाख २८ हजार ७ सय २८ रुपियाँको लागतमा ९९ दशमलव ३७ किलोमीटर लामो परिक्रमा सडकको निर्माण थालिएको थियो तर निर्माण जिम्मा लिएका ५ ठेकेदार कम्पनीले जग्गाको मुआब्जा र क्षतिपूर्ति सम्बन्धी विवादका कारण देखाउदै काम सुस्त गतिमा गरिरहेका छन ।जसले गर्दा परिक्रमामा सहभागि धर्मयात्रीलाई पैदल यात्रा गर्न समस्या भएको हो ।निर्माण भएको कालो पत्र सडक पनि उकिन थालेको छ ।
                                (महोत्तरीको परिक्रमा स्थल मठिहानी भ्रमण गरेर फर्केपछि तयार पारिएको  रिर्पोट)

   प्रकाशित मिति ः२०७७ चैत्र १४ गते ।

- Advertisement -

More articles

Leave a Reply

भर्खर

लालगढमा गौतम होटल धमाधम निर्माण हुँदै

बर्दिबास, माघ ११ गते । चार दशकदेखि ग्राहकलाई सेवा दिदैं आएको महोत्तरीको बर्दिबासस्थित गौतम होटलले धनुषाको लालगढमा सुविधासम्पन्न होटल धमाधम निर्माण गरिरहेको छ । युवा...

राष्ट्रियसभा सदस्यको १९ सिटका लागि बुधबार निर्वाचन हुँदै

काठमाडौं, माघ ११ गते । राष्ट्रियसभा सदस्यको १९ सिटका लागि बुधबार निर्वाचन हुँदै छ । बुधबार बिहान ९ बजेदेखि ३ बजेसम्म सातै प्रदेशमा राष्ट्रिय सभाको...

मधेश सरकारले किन घडेरी खोज्दै छ ?

शैलेन्द्र महतो जनकपुरधाम, माघ ११ गते । मधेश प्रदेश सरकारले आफ्नो घर बनाउन घडेरीको खोजीमा जुटेको छ । हालै जनकपुरधाम स्थायी राजधानी तोकिए छ । जनकपुर...

गिरिराजमणि पोखरेलज्यू, सिंहदरबारको अधिकार कहिले आइपुग्छ ?

श्री गिरिराजमणि पोखरेलज्यू, श्री सारदा देवी थापाज्यू, श्री बिदुरकुमार कार्कीज्यू । महोदय,       भनिन्छ, सडक र पुलले ७० प्रतिशत विकाश गाडीमा बोकेर गाउँमा ल्याउँछ । मेरो...

ग्रामिण भेगको विकासका लागि समुदायमा आधारित विकासको मोडेलको खाँचो छ ः पूर्वशिक्षा मन्त्री पोखरेल

खयरमारा, माघ १० गते । ग्रामिण भेगको विकासका लागि समुदायमा आधारित विकासको मोडेलको खाँचो रहेको पूर्वशिक्षा मन्त्री गिरिराजमणि पोखरेलले बताएका छन् । महोत्तरीको विकट गाउँ...